राजकुमार पासवान ।
राजविराज,२७ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजविराज अवस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको आज अवलोकन तथा निरीक्षण गर्नु भएको हाे।

वि.सं. २०४४ सालमा स्थापना भएको यस औद्योगिक क्षेत्रमा विभिन्न समस्याहरूका बाबजुद हाल १२ वटा उद्योग सञ्चालनमा रहेका छन् भने थप १० वटा प्लट नयाँ उद्योग स्थापनाको प्रतीक्षामा छन्।
उद्योगपतिहरूलाई लगानी गर्न प्रदेश सरकारको निरन्तर आग्रह
औद्योगिक क्षेत्रमा रहेको ढल निकास,खानेपानीलगायतका आधारभूत पूर्वाधारका समस्या समाधानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिँदै मुख्यमन्त्री सिंहले सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्न पहल भइरहेको उल्लेख गर्नुभएकाे हाे।
साे मुख्यमन्त्री सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापना गर्ने प्रचुर सम्भावना रहेको बताउँदै भने, “ठूला उद्योग स्थापना भए रोजगारीका अवसर सिर्जना हुनुका साथै राजस्व संकलनमा वृद्धि भई स्थानीय, प्रदेश तथा राष्ट्रिय आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ।”
ठूला उद्योग स्थापनाले रोजगारी र राजस्व वृद्धि हुने : मुख्यमन्त्री सिंह
साे मुख्यमन्त्री सिंहले,थपे- मधेश प्रदेश सरकार औद्योगिक क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध छ र उद्योगपतिहरूलाई यस क्षेत्रमा लगानी गर्न निरन्तर आग्रह गरिरहेको छ।
सो अवसरमा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कार्यवाहक प्रमुख मनिष कुमार मिश्र र उद्योगी मिलन सिंहले मुख्यमन्त्री सिंहसमक्ष औद्योगिक क्षेत्रको वर्तमान अवस्था तथा विद्यमान समस्याबारे विस्तृत जानकारी गराए।