कञ्चनपुर (सप्तरी), ७ साउन । सप्तरीको रूपनगरबाट सामुदायिक विद्यालयका बालबालिकालाई लक्षित गर्दै ‘कम्प्युटर सिकाइ अभियान’ सुरु गरिएको हाे।

सरकारी प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई प्रविधिमा पहुँच पुर्याउने उद्देश्यसहित सुरु गरिएको यो कार्यक्रम नेपालको ग्रामीण प्राथमिक तहमा सञ्चालनमा आएको सम्भवतः पहिलो प्रयोग हो।
‘सामुदायिक प्राथमिक विद्यालयमा कम्प्युटर सिकाइ’ नाम दिइएको अभियान रूपनगर नन्दराज संग्रौला क्याम्पस, एक्मी इञ्जिनियरिङ कलेज (काठमाडौं) र दलित सरोकार मञ्चको संयुक्त सहकार्यमा सञ्चालन हुँदैछ।
अभियान अन्तर्गत कम्प्युटर उपकरण एक्मी इञ्जिनियरिङ कलेजले उपलब्ध गराएको हो भने कम्प्युटर र अङ्ग्रेजी विषयका प्रशिक्षक दलित सरोकार मञ्चमार्फत परिचालित भएका छन्।
साे कार्यक्रममा पहिलो चरणमा सहभागी राष्ट्रिय प्राथमिक विद्यालय पिपरा,भगवती आधारभूत विद्यालय कञ्चनपुर रवीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुर रहेका छन ।
ग्रामीण शिक्षा र प्रविधिको संगम : रूपनगरमा कम्प्युटर सिकाइ अभियान सुरु
साे रूपनगर क्याम्पस परिसरमा आयोजित शुभारम्भ कार्यक्रममा क्याम्पस प्रमुख प्रा. दीपक कुमार गजुरेलले कक्षा ४ मा अध्ययनरत बालबालिकालाई कम्प्युटर र अंग्रेजी बोल्ने क्षमता दिलाउने उद्देश्य अभियानको केन्द्रमा रहेको स्पष्ट पार्नुभयो।
एक्मी इञ्जिनियरिङ कलेजका प्रिन्सिपल प्रा. इञ्जि. प्रदीप कुमार पौड्यालले विद्यालयहरूमा कम्प्युटर हस्तान्तरणसँगै शिक्षकहरूलाई समेत आधारभूत तालिम प्रदान गरिने जानकारी दिनुभयो।
रूपनगरबाट ग्रामीण विद्यालयमा कम्प्युटर शिक्षा सुरुआत : सरकारी विद्यालयमा प्रविधि प्रवेश
शिक्षकलाई दुई महिनाको निःशुल्क तालिम
रूपनगर क्याम्पसले ती तीन विद्यालयका १५ जना शिक्षकलाई दुई महिनासम्म कम्प्युटर तालिम निःशुल्क दिनेछ, जुन क्याम्पसकै आधुनिक कम्प्युटर प्रयोगशालामा सञ्चालन गरिनेछ।
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले अभियानको उद्देश्य र महत्वबारे बताउँदै भन्नुभयो,
“जहाँ राज्यको पहुँच ढिलो पुग्छ, त्यहाँ नागरिक समाजले आफ्नो कर्तव्य बिर्सनु हुँदैन भन्ने विश्वासले हामी यो काममा लागेका हौं। साना चप्पल लगाउने बालबालिकाको हातमा माउस देख्दा उनीहरूको अनुहारमा देखिएको उज्यालोले परिवर्तन सम्भव छ भन्ने हिम्मत दिएको छ।”
उहाँले अभियान सफल भएमा त्यसलाई अन्य विद्यालयसम्म विस्तार गर्ने योजना रहेको पनि उल्लेख गर्नुभयो।
अभियानको प्रभावकारिता मूल्याङ्कन तथा अनुगमनका लागि रूपनगर क्याम्पसले तीन सदस्यीय समिति गठन गरेको छ। कार्यक्रममा उच्च अदालतका पूर्व मुख्य न्यायाधीश कुमार प्रसाद पोखरेलले शुभकामना व्यक्त गर्दै यस्ता प्रयासहरूलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
कञ्चनरुप नगरपालिका–१२ का वडाध्यक्ष तथा कार्यक्रम सभापति देवि बहादुर खत्रीले यो अभियानलाई ‘पवित्र प्रयास’ भन्दै सामुदायिक समर्थनको आह्वान गर्नुभयो। कार्यक्रमको सञ्चालन युवा सामाजिक अभियन्ता मनिष कोइरालाले गर्नुभएको थियो।