अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), ५ असार । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सप्तरीको ईलाका प्रहरी कार्यालय कञ्चनपुरको निरीक्षण भ्रमण गर्नुभएको हाे।

बिहीबार निरीक्षणका क्रममा मन्त्री लेखीले निर्माणाधीन भवन, प्रशासन शाखा, मेस भवन, मुद्दा फाँट, हिरासत कक्ष, उजुरी शाखा, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र लगायत सम्पूर्ण संरचनाको अवलोकन गर्नुका साथै सर्वसाधारण जनताको प्रत्यक्ष चासो सुन्नु भएको हो।
साे निरीक्षण भ्रमणका क्रममा मन्त्री लेखीले शान्ति सुरक्षाको अनुभूति जनताले प्रत्यक्षरूपमा पाउन सक्ने वातावरण सृजना गर्न प्रहरी प्रशासनलाई आग्रह गर्दै ईप्रका कञ्चनपुरको भौतिक पूर्वाधार, सेवाप्रवाह प्रणाली र जनचासोका विषयमा गम्भीर चासो व्यक्त गर्नुभयो।
विशेषगरी प्रहरी कार्यालयको जग्गा व्यवस्थापन, सेवा केन्द्र विस्तार, गाडीको उपलब्धता लगायतका विषयमा मन्त्रीले सम्बन्धित निकायसँग जानकारी लिँदै आवश्यक समन्वयको आश्वासन दिनुभयो।
उक्त अवलोकन भ्रमणमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा डिएसपी माघवप्रसाद काप्ले, प्रहरी निरीक्षक लेखनाथ विष्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय जनप्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रहरी भवनदेखि जनचासोसम्म: मन्त्री लेखीको निरीक्षण भ्रमण सम्पन्न
मन्त्री लेखीको निरीक्षणसँगै स्थानीयवासीले प्रहरी प्रशासनप्रति विश्वास र अपेक्षा व्यक्त गर्दै सेवा प्रवाहमा अझ पारदर्शिता र तत्परताको आवश्यकता औँल्याएका छन्।