अपूर्व न्यूज समाचारदाता ।
राजविराज, १८ असार । नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले पत्रकार अतिथि गृह निर्माणमा कुनै पनि किसिमको कमिसन नदिएको प्रष्ट पार्दै शिर्ष खबर डटकममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएको हाे ।

बुधबार महासंघ सप्तरीका सहसचिव डम्बर राईले प्रेस विज्ञप्ति जारी गर्दै तत्कालीन मधेश प्रदेश सरकारको सहयोगमा २०८० सालमै सम्पन्न भएको तीन तल्ला ‘पत्रकार अतिथि गृह’ निर्माणमा अनियमितता भएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति आपत्ति जनाएको हो ।
शिर्ष खबर डटकममा प्रकाशित समाचारमा मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई कमिसन दिइएको भन्ने दाबीप्रति महासंघको ध्यानाकर्षण भएको जनाउँदै महासंघले भनेको छ, “समाचारमा भनिएजस्तो कसैलाई पनि कुनै किसिमको कमिसन दिइएको छैन, समाचारमा प्रयोग गरिएको फोटो पनि हाम्रो आधिकारिक होइन ।”
८५ लाखको बजेट विनियोजन, ६५ लाख खर्च, बाँकी सरकारलाई फिर्ता : महासंघ सप्तरी
साे विज्ञप्तिमा पूर्वअध्यक्ष शम्भु झा र तत्कालीन मन्त्री साहको विशेष पहलमा उक्त भवन निर्माणका लागि पहिलो पटक २५ लाख र दोश्रो पटक ६० लाख गरी जम्मा ८५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । तर महासंघले सो मध्ये ६५ लाख मात्रै खर्च गरी झन्डै १२ लाख बजेट सरकारकै खातामा फिर्ता गरेको स्पष्ट पारिएको छ ।
भवनमा आठ वटा कोठा निर्माण गरिएका छन्, जसमा चारवटा कोठा डिलक्स एट्याच बाथरुमसहितका छन् । त्यस्तै भुइँतल्लामा पार्किङ र क्यान्टिन पनि निर्माण गरिएको महासंघले जनाएको छ ।
पत्रकार महासंघमाथि निराधार आरोप : कानुनी कारबाहीमा जाने चेतावनी
साे महासंघले पटक–पटक संस्थालाई बदनाम गर्न खोजिएको भन्दै “शिर्ष खबरले तथ्यहिन, एकतर्फी र सुनियोजित ढंगले भ्रमपूर्ण सामग्री प्रकाशन गर्दै आएको” आरोप समेत लगाएको छ ।
साे महासंघले समाचार लेख्दा पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै, भ्रामक समाचार प्रकाशन गर्नेहरूविरुद्ध कानुनी प्रक्रियामा जाने चेतावनी पनि दिएको हाे ।