औरही(महोत्तरी), १० असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षाको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको भन्दै सुधारको नेतृत्व लिन स्थानीय तहलाई आह्वान गरेका छन्।
मंगलबार महोत्तरीको औरही नगरपालिकामा आयोजित १६औं नगरसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्यामा आएको गिरावट, शिक्षक र अभिभावकको लापरवाही तथा बालबालिकामा फैलँदो लागूऔषध दुर्व्यसनको समस्यालाई गम्भीर चुनौतीका रूपमा औंल्याए।
“सरकारी र निजी दुवै विद्यालयको गुणस्तर खस्किँदै, सिंहको कटाक्ष”
उनले भने, “मधेशका जनशक्तिहरू एक समय शिक्षादेखि प्रविधिसम्मका क्षेत्रमा देशैभर नेतृत्वदायी भूमिका खेल्थे। तर आज त्यही मधेशको शिक्षा प्रणाली कमजोर हुँदै गएको छ। अब यसलाई सुधार्ने नेतृत्व स्थानीय तहले लिनैपर्छ।”
मुख्यमन्त्री सिंहले सरकारी विद्यालयमा भर्ना भएपछि अभिभावक र शिक्षक दुवै पन्छिने प्रवृत्ति देखिएको बताउँदै शिक्षा क्षेत्रमा जिम्मेवारीबाट भाग्ने संस्कारले विद्यालयहरूको गुणस्तर खस्किँदो बनाएको धारणा राखे।
“अभिभावकले भर्ना गरिसकेपछि आफ्नो जिम्मेवारी सकिएको ठान्छन्, शिक्षकहरूले पनि तलब खायो भने जिम्मेवारी पूरा भयो भन्ने बुझाइ राख्छन्,” उनले भने, “यस्तो प्रवृत्तिले सामुदायिक विद्यालयहरू सिकाइको दृष्टिले कमजोर बनाएका छन्।”
मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयमा देखिएको लापरवाहीकै कारण बालबालिकाहरू लागूऔषध दुर्व्यसनको चपेटामा पर्न थालेको गम्भीर संकेत गरे। “शिक्षकहरूले केवल पठनपाठनमा होइन, सामाजिक अनुशासन निर्माणमा पनि योगदान दिन जरुरी छ,” उनले जोड दिए।
शिक्षामा लापरवाहीले लागूऔषध दुर्व्यसन बढ्दो : मुख्यमन्त्री सिंह
त्यसैगरी, उनले निजी विद्यालयहरूलाई समेत आक्षेप लगाउँदै भने, “मधेशका निजी विद्यालयहरू विद्यार्थीको समग्र विकासभन्दा प्रमाणपत्र वितरणमै सीमित छन्।”
सिंहले शिक्षा प्रणालीको सुधारका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतहरूलाई बढी सक्रिय र जवाफदेही बन्नुपर्ने धारणा राखे।
नगरसभामा औरही नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार खड्काले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड २७ लाख ७७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरे।