राजकुमार पासवान ।
राजविराज, २ साउन। मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो गृह जिल्ला सप्तरीको जिल्ला प्रशासन कार्यालयमा सर्वसाधारण नागरिकझैं लाइनमा बसेर सेवा लिएकाे हाे ।

शुक्रबार मुख्यमन्त्री सिंहले नागरिकताको प्रतिलिपि तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिनका लागि टोकन प्रणालीअनुसार पालो कुरेर सेवा लिएपछि कार्यालयमा उपस्थित सर्वसाधारण सेवाग्राहीहरूमा उत्साह र प्रेरणा थपिएको देखिएको थियो।
मुख्यमन्त्री सिंहको सादगी : प्रशासन कार्यालयमा स्वयं सेवा लिनु भयो
प्रमुख सरकारी पदमा रहेका व्यक्तिहरूले सामान्य जनताको हैसियतमा सेवा लिएको उदाहरण दुर्लभ मानिने हाम्रो व्यवस्थामा मुख्यमन्त्री सिंहको यस व्यवहारले सरकारी सेवाप्रतिको विश्वास बढाएको सेवाग्राहीहरूको भनाइ छ।

सेवाग्राहीमध्येका एक भन्छन्, “मुख्यमन्त्रीज्यू लाइनमा बस्नुभयो भनेर थाहा पाएपछि हामी सबै अचम्ममा पर्यौं। यस्तो व्यवहारले नागरिक र नेतृत्वबीचको दूरी कम गर्छ।”