img

जनमत पार्टीका निलम्बित उपाध्यक्ष साह र कोषाध्यक्ष यादवलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको सिफारिस


राजकुमार पासवान ।
राजविराज, २९ असार । जनमत पार्टीको सप्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्यहरूको संयुक्त बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न नेताहरूविरुद्ध कडा अनुशासनात्मक कारबाहीको सिफारिस गरेको हाे ।

अनुशासन उल्लंघन र आर्थिक अपचलनमा संलग्न नेतामाथि निष्कासनको प्रक्रिया अघि बढ्यो

आइतबार जिल्ला इन्चार्ज रामगमन साहको अध्यक्षतामा बसेको बैठकले निलम्बित उपाध्यक्ष दिपक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने प्रस्ताव पार्टी सचिवालयमा पठाउने निर्णय गरेको हो।
साे बैठकले उल्लेख गरेको अनुसार, निलम्बित नेताद्वय विगतमा पनि पार्टीको आन्तरिक अनुशासन उल्लंघन, व्यक्तिगत स्वार्थमा आधारित निर्णय तथा चुनावी समयमा पार्टीविपरीत गतिविधि सञ्चालन गरेको प्रमाणसहितको विवरणहरू भेटिएको हाे।

पार्टी झण्डा र कोषको दुरुपयोग आरोप, जनमत  जिल्ला कमिटीले गर्‍यो निर्णायक कदम

तिनीहरूमाथि अनधिकृत रूपमा पार्टीको नाम र झण्डाको प्रयोग गर्दै कार्यकर्तालाई भ्रमित पार्ने, पार्टीको कोष दुरुपयोग गर्ने, लेवीको रकम अपचलन गर्ने तथा पार्टीको रकमबाट खरिद गरिएको सम्पत्ति निजीकृत गर्न खोज्नेजस्ता गम्भीर आरोपहरू पनि बैठकमा प्रस्तुत गरिएको थियो।
यसअघि नै पार्टीले दिपक साह र सुरेन्द्र नारायण यादवलाई निलम्बन गरिसकेको भए पनि, पछिल्लो निर्णयमार्फत उनीहरूलाई पार्टीको आधारभूत सदस्यताबाट समेत हटाउन अन्तिम सिफारिस गरिएको छ।
पार्टीले स्पष्ट गरेको छ कि संगठनभित्र अनुशासन, पारदर्शिता र सामूहिक निर्णय प्रक्रियामा सम्झौता नहुनेछ, र अनुशासनहीनता सह्य नहुने नीतिमा अडिग रहेको छ।


प्रतिक्रिया दिनुहोस् ।