अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), २२ असार । कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले छात्रवृत्तिको उद्देश्य केवल आर्थिक सहायता मात्र नभई अभिभावकलाई आफ्ना बालबालिकाको शिक्षाप्रति चासो दिनुपर्ने जाेड दिएको हाे ।

आइतबार कञ्चनरुप नगरपालिका वडा नं. ७ स्थित भृकुटी माध्यमिक विद्यालय धरमपुरमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा प्रमुख अतिथिका आसन्नबाट सम्बोधन गर्दै नगरप्रमुख गुप्ताले भने, “छात्रवृत्ति लिनु मात्र उद्देश्य होइन, अभिभावकले आफ्ना बालबालिका के पढ्दै छन्, कस्तो प्रगति गर्दै छन् भन्नेमा चासो राख्नुपर्ने हाे।”उनले भने,-नयाँ शैक्षिक सत्रदेखि विद्यालयमा दक्ष शिक्षकहरूको आगमन भइसकेकाले गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिने बताए।
भृकुटी विद्यालयमा अध्ययनरत दलित तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति
साे कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष समानन्द चौधरीले विद्यालयमा अनुगमनको आवश्यकता औंल्याउँदै समय समयमा अनुगमन र शैक्षिक सुधारका कार्यक्रमहरू आवश्यक रहेको बताए।
साे विद्यालयका प्रधानाध्यापक अनुज गुप्ताले विद्यालयमा दलित तथा गरिब रेखामुनिका विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी दिँदै अभिभावकहरूको निरन्तर चासो र सहभागिताले विद्यार्थीको शैक्षिक प्रगति सुनिश्चित हुने बताए।
ईश्वरीऋषि अक्षय कोषबाट ३ जना दलित छात्रालाई जनही रु १ हजार ३ सय छात्रवृत्ति वितरण
सो अवसरमा कक्षा १ का १९, कक्षा २ का २२, कक्षा ३ का ३२, कक्षा ४ का ३० र कक्षा ५ का ३० जना गरी जम्मा १ सय ३३ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हाे।
त्यसैगरी साेही विद्यालयमा ईश्वरीऋषि छात्रवृत्ति अक्षय कोषबाट कक्षा ९ र १० मा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरू प्रियंका कुमारी खंग, प्रमिला कुमारी सरदार र मनिका कुमारी सरदारलाई जनही रु. एक हजार तीन सयका दरले छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको हाे ।