img

कञ्चनरुपमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, सुझावहरू योजना निर्माणमा समावेश गरिने : नगर प्रमुख गुप्ता


अपूर्व न्यूज समाचारदाता
कञ्चनपुर (सप्तरी), ३ असार । सप्तरीको कञ्चनरुप नगरपालिका–८, कञ्चनपुरको बेरियर चोकमा स्थानीय सरोकार र गुनासाहरू सुन्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हाे।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरप्रमुखका प्रतिस्पर्धी तथा सामाजिक अभियान्ता भोला पासवानले आपनो सान्दर्भिक भनाइ राख्दैं ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरप्रमुखका प्रतिस्पर्धी तथा सामाजिक अभियान्ता भोला पासवानले आपनो सान्दर्भिक भनाइ राख्दैं ।

साेमबार कञ्चनरुप नगरपालिकाले आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उल्लेखनीय संख्यामा स्थानीयबासीको सहभागिता रह्यो। उनीहरूले दैनिक जीवनसँग जोडिएका विकास निर्माण, सेवा प्रवाह, पारदर्शिता, आर्थिक जवाफदेहीता लगायतका विषयमा आफ्ना सुझाव र चिन्ताहरू व्यक्त गरेका छन।

साे कार्यक्रममा नगर प्रमुख ललन प्रसाद गुप्तासहित स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। जनताको जिज्ञासाप्रति प्रतिक्रिया दिँदै नगर प्रमुख गुप्ताले विगतका कमजोरीहरूप्रति आत्मसमीक्षा गर्दै सुधारका लागि आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरेकाे हाे।

नगर प्रमुखले भन्नुभयो, “जनताको विश्वास नै हाम्रो कामको प्रेरणा हो, उठाइएका हरेक सुझाव र गुनासोलाई नीति तथा कार्यक्रममा समावेश गरिनेछ।”

साे कार्यक्रममा बोल्दै नगरप्रमुखका प्रतिस्पर्धी तथा सामाजिक अभियान्ता भोला पासवानले नगरपालिकाको खर्च विवरण सार्वजनिक गर्दै बजेट कार्यान्वयनमा पारदर्शिता अभाव रहेको आरोप लगाए।

उनले वातावरणीय प्रभाव मूल्याङ्कन (EIA), सञ्चार क्षेत्र, कर्मचारी भर्ना, र तलब–भत्तामा देखिएको अनियमितताप्रति गम्भीर प्रश्न उठाउँदै नगर नेतृत्वसँग जवाफ मागेका थिए।
प्रतिस्पर्धी पासवानले भने, “सूचना प्रवाहमा अपारदर्शिता छ। सञ्चार क्षेत्रमा लाखौं खर्च देखिन्छ तर त्यसको प्रत्यक्ष लाभ पत्रकार समुदायले अनुभूत गर्न सकेका छैनन्। खर्चको स्पष्ट विवरण सार्वजनिक गरिनुपर्छ।”

जनसरोकारको मुद्दामा चर्काे बहस, पारदर्शिता र जवाफदेहिताको माग तीव्र

कार्यक्रममा केही आक्रोश पनि देखिएको थियो भने सहभागीहरूबाट गुनासोसँगै व्यावहारिक सुझावहरू पनि आएका थिए। तर, यसैबीच नगर उपप्रमुख मुना कुमारी पोखरेलले कार्यक्रममा आफूलाई जानकारी नदिएको भन्दै सामाजिक सञ्जालमार्फत कार्यक्रम बहिष्कारको जानकारी गराएकी थिइन्।
कार्यक्रमको सहजीकरण काठमाडौंस्थित ‘केही कुरा क्रियशन प्रा.लि.’ ले गरेको थियो।
साे सार्वजनिक सुनुवाइमा  पारदर्शिता, जवाफदेहिता, र सहभागितामूलक शासन अभ्यासलाई सुदृढ गर्ने लक्ष्यसहित गरिएको यो सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय सरकार र जनसमुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस् ।