img

कञ्चनरुपमा इन्द्र भगवानलाई रिझाउँदै ‘जट-जटिन’ गीत संगीतसहित वर्षाका लागि सामूहिक प्रार्थना


राजकुमार पासवान ।
कञ्चनपुर (सप्तरी), २८ असार। कञ्चनरुप नगरपालिका वडा नं.१ स्थित बैरवामा वर्षा नभएको भन्दै स्थानीय महिलाहरूले इन्द्र भगवानलाई रिझाउँदै ‘जट-जटिन’ गीतसंगीतसहित परम्परागत सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हाे।

सप्तरीको बैरवाका स्थानीय महिलाहरूको अगुवाइमा  ‘जट-जटिन’ गीतसंगीतसहित नृत्य गर्दै ।

तराई मधेश प्रदेशमा लामो समयदेखि पानी नपरेको चिन्ताले ग्रस्त स्थानीय महिलाहरूले शुक्रबार राति वर्षाका लागि इन्द्र भगवानलाई प्रसन्न पार्न सदियौँ पुरानो परम्पराअनुसार भव्य पूजाको आयोजना गरेकाे हाे।
साे कञ्चनरुप नगरपालिका वडा नं.१ बैरवाका स्थानीय महिलाहरूको अगुवाइमा एक आपसमा मिलेर गरिएको उक्त पूजा, गीत–संगीत र लोकसंस्कृतिसहितको कार्यक्रमले गाउँलाई भक्तिमय र सांस्कृतिक रंगमा रंगाएको थियो। वर्षा र सहकालको कामनासहित गरिएको पूजामा ‘जता जतिन विष्यहर महाराज’ भन्ने परम्परागत गीत प्रस्तुत गरियो, जसले मधेस क्षेत्रको गहिरो सांस्कृतिक इतिहासलाई पुनः स्मरण गराएको हाे।

बैरवामा वर्षाकाे लागि भव्य इन्द्र पूजा, सांस्कृतिक कार्यक्रमद्वारा वातावरण भक्तिमय”

कार्यक्रममा स्थानीय पुरुष, महिलादेखि बालबालिकासम्मको सक्रिय सहभागिता देखिएको थियो। उपस्थितहरूले इन्द्र भगवानलाई दूध, दही, अक्षता, दीप र फूल चढाउँदै वर्षाका लागि सामूहिक प्रार्थना गरे। पूजाको क्रममा परम्परागत बाजा, नृत्य र सांस्कृतिक अभिनयसमेत प्रस्तुत गरिएको थियो, जसले वातावरणलाई जीवन्त बनायो।
पछिल्ला केही हप्तादेखि वर्षा नहुनुका कारण खेतहरू सुख्खा रहँदा किसानहरू अत्यधिक चिन्तित बनेका छन्। धान रोपाइँको समय भए तापनि पानी नपरेकाले उत्पादनमा ठुलो असर पर्ने सम्भावना देखिँदैछ। यस्तै समयमा परम्परागत विश्वास र धार्मिक आस्थाले ग्रामीण जनजीवनमा आशाको सञ्चार गरिरहेको देखिन्छ।

पानी नपरेपछि इन्द्र पूजा: कञ्चनरुपमा परम्परागत संस्कारसँगै वर्षाको कामना”

स्थानीय वयोवृद्धहरूले बताएअनुसार यो परम्परा पुराना पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ। इन्द्र पूजा मात्र होइन, यसले समुदायको एकता, सहकार्य र संस्कृतिप्रतिको माया झल्काउँछ।
“हामीले वर्षा नपरेपछि सामूहिक रूपमा पूजा गर्ने चलन धेरै पुरानो हो। यसबाट इन्द्र भगवान प्रसन्न भई वर्षा हुन्छ भन्ने विश्वास छ,” पूजा संयोजक मनोहरा देवी यादवलगायत महिलाहरूले बताए।
यस किसिमका सांस्कृतिक क्रियाकलापले न केवल धार्मिक आस्था बलियो बनाउँछन्, तर प्राकृतिक सन्तुलन र संस्कृतिको संरक्षणमा पनि सघाउ पुर्‍याउँछन्।

सदियौंदेखि चली आएको परम्पराअनुसार बैरवामा इन्द्र भगवानको पूजा सम्पन्न”

बैरवामा सम्पन्न उक्त पूजाले अहिलेको जलवायु असन्तुलनको सन्देश दिनुका साथै सामूहिकताको भावनालाई पनि उजागर गरेको छ। वर्षा नपरेको पीडा र समाधान खोज्ने परम्परागत उपायका रूपमा यो पूजा अझै सान्दर्भिक एक स्थानीय महिलाले बताइन्।


प्रतिक्रिया दिनुहोस् ।