अपूर्व न्यूज संवाददाता ।
कञ्चनपुर (सप्तरी), १७ असार । सप्तरीको कञ्चनरुप नगरपालिका–२, महदेवपट्टी नजिकै पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बसको ठक्करबाट एक बालकको मृत्यु भएको हाे।

दुर्घटनापछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि केही समय यातायात ठप्प भएको हाे।
साे प्रहरीका अनुसार बीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५४३८ नम्बरको यात्रुबाहक बसले सडक पार गरिरहेका ८ वर्षीय आयन शेखलाई ठक्कर दिएको हो। उनी कञ्चनरुप–२ निवासी रोजित शेखका छोरा हुन्। ठक्करबाट गम्भीर घाइते भएका बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हाे।

साे दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको नेतृत्वमा १५ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले बस र चालक सुनसरीकाे इटहरी उपमहानगरपालिका वडा नं. ५ निवासी ४५ वर्षीय मनोरथ पोखरेललाई नियन्त्रणमा लिएको छ। उनी हाल इलाका प्रहरी कार्यालय भारदहमा थुनामा छन्।
राजमार्गमा बालकको मृत्यु, क्षतिपूर्ति सहमतिपछि बाटो खुलेको
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले दिउँसो करिब २ बजेदेखि राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर स्थानीयसँग वार्ता गरी कानुनी प्रक्रिया अनुसार चालकमाथि कारबाही गर्ने र पीडित परिवारलाई क्षतिपूर्ति तथा सान्त्वना दिने प्रतिबद्धतासहित राजमार्ग सुचारु गराएको हो।
मृतक बालकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।